गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

२२ श्रावण २०८०, सोमबार १३:४७

काठमाडौं, २२ साउन – बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि सोमबार (आज) बिहान लुच २८४९ नंको जीपमाथि ढुङ्गासहितको पहिरो खस्दा चालकसहित तीन जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

स्थानीय विष्णुप्रसाद पाण्डेले दिएको जानकारी अनुसार बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको लु२च २८४९ नं को गुडिरहेको जीपमाथि पहिरो खस्दा जीपमा सवार चालक सहित तीनजना घाइते भएका हुन् ।

घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ढुङ्गासहितको पहिरोले जीपको अगाडि भागमा पूर्णरुपले क्षति भएको स्थानीय पाण्डेले बताए।