पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री जोशीको प्रतिक्रिया– ललिता निवासबारे निर्णय हुँदा म मन्त्री थिइन

२२ श्रावण २०८०, सोमबार १३:४०

काठमाण्डौ, २२ साउन– ललिता निवासको जग्गा प्रकरणमा चार जना पूर्वमन्त्रीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री चन्द्रदेव जोशीले आफ्नो प्रतिक्रिया दिएका छन ।

पूर्व भूमिसुधारमन्त्री जोशीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ललिता निवास प्रकरणमा निर्णय हुँदा आफू मन्त्री पदमा बहाल नभएको उनले बताएका छन ।

०६९ असोज १८ गते मन्त्रिपरिषद्‌बाट निर्णय भएको र आफू त्यसबेला मन्त्रीमा बहाल नरहेको उनले बताएका छन । उनले भने, ‘२०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषद्‌मा निर्णय हुँदा म मन्त्री पदमा थिइनँ।

मन्त्रीपदबाट मैले त्यसअघि असोज ४ गते नै राजीनामा दिइसकेको थिएँ।’ उनले तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा आफू २०६९ जेठ ३ गतेदेखि असोज ४ गतेसम्म मात्र मन्त्री पदमा रहेको बताएका छन ।

साथै उनले निर्णय हुँदाताका टोबहादुर रायमाझीले उक्त मन्त्रालय सम्हालेको पनि बताएका छन । उनले भने, ‘मन्त्रिपरिषद्को सामाजिक समितिमा प्रस्ताव जाँदासमेत म मन्त्री पदमा थिइनँ। मैले मन्त्री पद छाडेपश्चात भएका कुनै पनि निर्णयबारे मलाई जानकारी छैन’ ।