सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२१ श्रावण २०८०, आईतवार १३:२१

काठमाण्डौ, २१ साउन– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ वायर फैक्टरीस्थित सडकमा प्र.२–०२–००१ प ०६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बटेश्वर गाउँपालिका–१ बस्ने ४२ वर्षीया कौसलिया देवी महतोको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता सर्लाहीको बरहथवा नगरपालिका-९ सोल्टीमोडस्थित सडकमा ना. १ ज २८४९ नम्बरको म्याजिक र ना.२० प ५१७९ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका-१ मंगलपुर बस्ने ३७ वर्षीय सुमन सहनीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका(१० बाँसबारीस्थित सडकमा प्र(१(०२(०४४ प ८८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका(६ जलजले बस्ने २५ वर्षीय सुदिप चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसमेत २ जनालाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि विराटनगरतर्फ रिफर गरिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।