५ वर्षभित्रमा निजी स्कुल शैक्षिक गुठीमा रूपान्तरण हुनुपर्ने

१८ श्रावण २०८०, बिहीबार १७:५२

काठमाण्डौ,१८ साउन– प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०८०’ ले निजी विद्यालयहरूले अबको पाँच वर्षभित्रमा शैक्षिक गुठीको रूपमा सञ्चालन गर्नुपर्ने बताएको छ ।

मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा पेश हुन लागेको उक्त विधेयकको मस्यौदामा ५ वर्षभित्रमा निजी विद्यालयहरू शैक्षिक गुठीको रूपमा परिणत हुनुपर्ने बताएको छ ।

‘ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय ऐन प्रारम्भ भएको मितिले ५ वर्षभित्र शैक्षिक गुठीको रूपमा रूपान्तरण गरी सञ्चालन गर्नुपर्नेछ’ मस्यौदामा उल्लेख गरिएको छ ।

त्यसरी सञ्चालित शैक्षिक गुठीको रूपमा रूपान्तरण गर्नुअघि संस्थागत विद्यालयले दायित्व फरफारक गर्नुपर्ने बताइएको छ । ऐन प्रारम्भ भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठी अन्र्तगत स्थापना र सञ्चालन हुन पनि सक्नेछन् ।