काठमाण्डौ,१८ साउन– सरकारले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागमार्फत नै प्रभावकारी भइरहेको भन्दै अर्को समिति आवश्यकता नरहेको बताएको छ ।
आज बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले यो प्रकरण अनुसन्धानका लागि अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान पनि प्रभावित हुने बताएकी छन ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरण अनुसन्धानका लागि प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेक ।
उसले सरकारी अनुसन्धानमा शंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेर संसद बैठक अवरुद्ध गरिरहेको छ । तर मन्त्री शर्माले भनिन्, ‘तस्करीको रुटकजमा पुग्छौं भन्ने कमिटमेन्टसहित राजनीतिक नेतृत्व लागिरहेको बेला अर्को समिति बनाउने, विषयवस्तु डाइभर्ट गर्ने कुराले अनुसन्धान प्रक्रियामा पनि प्रभाव पार्छ ।’
उनले सरकारले गरेको अनुसन्धान प्रभावकारी हुँदैन कि भन्ने आशंका भए केही समय पर्खिएर हेर्न समेत आग्रह गरेकी छन । उनले भनिन् ‘ती आशंकाको विषयमा त वेट एण्ड सी गर्नैपर्छ । समय कुरेर हेर्न सकिन्छ ।
आशंका गरिरहेको जस्तो भयो भने पछि समिति गठन गर्न सकिन्छ’। उनले अहिले सुन तस्करी अनुसन्धान गरिरहेको निकाय राजस्व अनुसन्धान विभाग सरकारको शक्तिशाली र अधिकार सम्पन्न निकाय हो भन्दै उनले अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान पनि प्रभावित हुने बताएकी छन ।
