सचिवालयबाट छोरी गंगा दाहाललाई हटाउन प्रचण्डसँग माओवादी नेताहरुको माग

१८ श्रावण २०८०, बिहीबार १४:२१

काठमाण्डौ,१८ साउन– नेकपा (माओवादी केन्द्र को बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले नेतृत्वको गलत कार्यशैलीको कारण माओवादी केन्द्र कमजोर बन्न पुगेको नेता हरुले बताएका छन ।

हिजो बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरेका थिए । उनीहरुले नेताहरुले आफ्नो सचिवालयमा छोरा–छोरी, ज्वाँई, भाई र भतिजाहरु राखेको र असल नेता तथा कार्यकर्ताहरु पाखा लगाईएको बताएका छन ।

केन्द्रीय सदस्य ओम शर्माले त अध्यक्ष प्रचण्ड यही तवरले नेतृत्वमा अर्को २० वर्ष नेतृत्वमा रहेपनि समाजवादको लक्ष्यमा पुग्न नसकिने बताएका थिए ।

अरु नेताहरुले पनि माओवादीका अहिले सरकारमा भएका नेताहरुले सचिवालयमा आफ्ना आफन्तबाहेक अरुलाई अवसर नदिएको बताएका थिए ।

उनीहरुले नेतृत्वले र लाभको पदमा हुनेले परिवारलाई सचिवालयमा राख्नुले पनि माओवादी भ्रष्टीकरणको बाटोमा अघि बढेको प्रमाण भएको बताएका छन ।

उनीहरुले जनयुद्धकालमा नेतृत्वलाई जनताका छोराछोरीले सहयोग गरेको भएपनि अहिले सत्ता र शक्तिमा आएपछि भने आफ्नै सन्तान आवश्यक हुनुले पनि पार्टीको भविष्य खराब रहेको स्पष्ट हुने बताएका छन ।

कतिपयले त प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रमुख स्वकिय सचिवमा छोरी गंगा दाहाललाई राखेकोमा आपत्ति व्यक्त गरेका थिए ।

उनीहरुले प्रचण्डको छोरी–मोहको कारण बालुवाटार र सिंहदरबारमा पार्टीका असल नेता तथा कार्यकर्ताहरुले आफ्नो सुप्रिमोलाई भेट्ने र दुःख सुखका कुरा राख्ने अवसरसमेत नपाएको बताएका थिए ।

उनीहरुले अध्यक्ष प्रचण्डलाई सुध्रिने हो भने पहिला सचिवालयबाट छोरी गंगा दाहाललाई हटाउन घुमाउरो तरिकाले सुझाव दिएका छन ।

अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको कार्यशैलीलाई लिएर प्रश्न र आलोचना गरेका छन् । केन्द्रीय कमिटीको बैठक आजपनि जारी छ ।

आज वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतले आफ्नो धारणा राखेका छन् । सो अवसरमा उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका श्रेष्ठले सरकारले भ्रष्टाचारविरुद्ध अभियान छेडेकोले यसलाई निश्कर्षमा पुर्याएरै छाड्ने बताएका छन ।

उनले प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा आफूले भ्रष्टाचारका ठूला ठूला फाइल खोलेको भन्दै अब कारबाही गर्दै जाँदा आफ्नै पार्टीका नेताहरु पनि भ्रष्टाचारमा संलग्न भएको पाईए नछोड्ने बताएका छन ।