छोरीलाई स्वकीय सचिव बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डको पार्टीबाटै आलोचना

१८ श्रावण २०८०, बिहीबार ११:३४

काठमाडौं, १८ साउन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवमे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको केन्द्रीय कमिटी बैठकमा आलोचना भएको छ ।

हिजो (बुधबार) को बैठकमा वरिष्ठ उपाध्यक्ष एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि आलोचना भएको थियो ।

उक्त बैठकमा बोल्ने नेताहरूले प्रधानमन्त्रीको सचिवालय र उपप्रधानमन्त्रीको सचिवालयमा छोराछोरी राखेको विषय उठाउँदै आलोचना गरेका हुन् । प्रवास कमिटीका सह–इन्चार्ज लक्ष्मण पन्तले किन छोराछोरी सचिवालयमा राखेको भन्दै प्रश्न गरेका छन् ।

उनले बैठकमा भने, ‘अध्यक्ष आफैँ रुपान्तरण नभई माओवादी पार्टी बन्दैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्ना छोरी र भतिजोलाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउनका लागि सचिवालयमा राखेका हुन् । यस्तो होइन भने माओवादीमा धेरै नेता कार्यकर्ता छन् । किन प्रमुख स्वकीय सचिव बनाउनु हुन्न ?’ अहिले प्रचण्डपुत्री गंगा दाहाल प्रचण्डकी प्रमुख स्वकीय सचिव छिन् ।

यस्तै, केन्द्रीय सदस्य कृष्ण केसीले माओवादीमा जीवन पारदर्शी नभएको भन्दै आलोचना गरे । उनले प्रधानमन्त्री प्रचण्डले २०४६ सालदेखिका भ्रष्टाचारका सबै फाइल खोल्नुपर्ने सुझाव दिए । उनले भने, ‘माओवादीबाट सत्तामा गएकाहरूको सम्पत्ति छानबिन गरौ । बेपत्ता छानबिन र सत्य निरुपण आयोग तुरुन्त निर्माण गर्नुपर्छ । समाजवादका नमुना गाउँहरू बनाउनतर्फ जानुपर्छ ।’

केन्द्रीय सदस्य हिमाल शर्माले पार्टीले सञ्चालन गरेको अभियानको समीक्षा नभएको भन्दै असन्तुष्टि पोखे । उनले भने, ‘दुई महिने अभियानको समीक्षा भएन । पार्टी बनाउने भनेर अभियान सञ्चालन भयो । तर, त्यसको समीक्षा भएन । अब असफल अभियान सञ्चालन नगरौँ ।’

बैठकमा केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले पार्टी एकतामा आएकाहरूको जिम्मेवारीमा पार्टीले ध्यान दिनुपर्ने बताए । उनले क्षमताअनुसार जिम्मेवारी दिनुपर्ने भन्दै पार्टीमा आत्मालोचना र आलोचनालाई आलुचना बनाएर खाएको टिप्पणी गरे ।

अर्का केन्द्रीय सदस्य कृष्ण चौधरी भने अध्यक्ष प्रचण्डको बचाउमा उभिए । उनले भने, ‘पार्टी अध्यक्षको गल्ती देख्ने तर आफ्नो कुनै गल्ती नदेख्दा पार्टी बिग्रियो । सबैले आफैँतर्फ फर्केर हेर्नुपर्छ । अझ भन्ने हो भने आफ्नो टाउकोमा आफैँ आगो लगाउनुपर्ने समय आएको छ । पार्टी बनाउने हो भने एकले अर्कोलाई दोष लगाउने होइन, फिल्डमा खटौँ ।’

केन्द्रीय सदस्य सचिन रोकाले अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि टिप्पणी गरे । उनले भने, ‘प्रतिवेदन युग परिवर्तन गर्ने खालको आएको छ । सरकारको कामले जनताका आसको सञ्चार भएको छ । तर, नेताहरू प्रचार प्रसार गर्दैनन् । दुई अंकको केन्द्रीय कमिटी बनाउनुपर्छ । नेता कार्यकर्ताहरूबीच अब चुनाव मात्र एक विकल्प हो । यसले पार्टीमा काम गर्ने र नगर्नेबीच छुट्याउन सहज हुन्छ ।’

अर्का केन्द्रीय सदस्य अमर तमुले पनि प्रतिवेदन राम्रो आएको बताए । उनले भने, ‘डकुमेन्ट राम्रो आएको छ । डकुमेन्टले समाजवादको चित्र कोर्न सफल भएको छ । हर्क साम्पाङको मोडलमा माओवादीले काम गर्नुपर्छ । माओवादीबाट लाभको पदमा बसेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ ।’