काठमाडौं, १७ साउन – रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा विराटनगर महानगरपालिका–५ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरान– इटहरी सडक खण्डमा साउन ५ गते चौधरीलाई गोली हानी हत्या भएको थियो । उक्त हत्यामा संलग्न तीन जना मध्ये २ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।
लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको समेत प्रहरीको दाबी छ । कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाका अनुसार तिम्सिना जवरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागु औषध मुद्दामा ६ महिना कारागार बसेका व्यक्ति हुन् ।
पक्राउ परेकाहरु सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न भएको डीआईजी बास्तोलाले बताएका छन् । उनीहरु धरान–इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न रहेका थिए । गत असार ८, असार १३, असार ३१ गते पनि उनीहरूले लुटपाट गरेका थिए ।
पक्राउ परेकाको साथबाट पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको डीआईजी बास्तोलाले बताएका छन् । २८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा उनीमाथि धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल दक्षिणतर्फ उनीमाथि गोली प्रहार भएको थियो ।
गोली प्रहारबाट गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।
