काठमाडौं, १७ साउन – इटहरीका लालबहादुर विश्वकर्मा आज जेल मुक्त हुने भएका छन् । उनी विनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा कारागारमा रहेका थिए ।
मंगलबार (हिजो) उच्च अदालत विराटनगरले लालबहादुरसहित तीन जनालाई सफाइ दिएको थियो । सुनसरी जिल्ला अदालतको आदेशमा उनी ३ करोड बिगो जरिवाना तिर्न नसक्दा झुम्का कारागारमा रहेका थिए ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई विनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगी दुवै मुद्दामा सफाइ दिएको थियो ।
विनाइजाजत बैंक तथा वित्तीय कारोबारमा कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्चले सफाइ दिइएको छ । विकलाई रिहाइ गर्न कागजात मिलाउने प्रक्रिया सकिएको झुम्का कारागारका निमित्त जेलर कृष्णप्रसाद सुवेदीले बताए ।
२७५ जनाले १० हजारदेखि १० लाख रुपैयाँसम्म ठगी गरेको भन्दै मुद्दा दिएका थिए । उजुरीमा अढाई वर्षदेखि ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुरलाई पनि विपक्षी बनाइएको थियो ।
२०७८ पुस १९ गते सुनसरी जिल्ला अदालतले ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेरसहित सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र लालबहादुरविरुद्ध १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गरेको थियो ।
जसमा लालबहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो र ७० हजार जरिवानासहित तीन वर्ष जेल सजाय सुनाइएको थियो ।
