काठमाण्डौ, १६ साउन– कोशी प्रदेशका सभामुख बाबुराम गौतमले देउवा र प्रचण्डको दबाब थेग्न नसकेपछि पदबाट राजीनामा दिएका छन ।
मंगलबार गौतमले उपसभामुख सिर्जना दनुवारलाई इमेलमार्फत राजीनामा पठाएको उच्च स्रोतले जानकारी दिएको छ । गौतम तत्कालिन प्रदेश नम्बर १ को सभामुखमा गत पुस २८ गते प्रदेश सभाबाट निर्विरोध निर्वाचित भएका थिए ।
गत असार २१ गते नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई समर्थन गरेपछि तिब्र आलोचनाको सिकार भएका गौतम सर्वोच्चले आफ्नो कदम असंवैधानिक ठहर गरेपछि दलहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।
तर नयाँ सरकारमा दाबी गर्न बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनले उनलाई राजीनमा गराएर आजै मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ ।
कुनैपनि हालतमा राजीनामा नदिने अड्डी कसेका गौतमलाई केन्द्रीय नेतृत्वले बारम्बार राजीनामा दिन दबाब दिएपछि बाध्य भएर राजीनामा दिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन ।
उनलाई सरकारमा मन्त्री बनाउने शर्तमा राजीनामा दिन मनाइएको गठबन्धनका नेताहरूले जानकारी दिएका छन । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
कांग्रेसका २९,सभामुखसहित माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ पुग्छन् ।
