गौर हत्याकाण्ड : १७ वर्षअघिको मुद्दा चर्काउँदै दलहरू
जनकपुरधाम, १६ साउन– रौतहटको गौरमा भएको हत्याकाण्ड पुनः चर्चामा आएको छ । १७ वर्षअघि भएको उक्त घटनाका विषयमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) र प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेताहरू एकअर्काविरुद्ध आरोप–प्रत्यारोप गरिरहेका छन् । दुवै पार्टीका नेताहरूले दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।
सत्ता गठबन्धनमा आबद्ध अरू दलसहित जसपाका नेताहरूले उक्त घटनामा आम जनता पार्टीका अध्यक्ष प्रभु साह दोषी रहेको आरोप लगाउँदै आएका छन् । प्रभु साहले भने तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलगायत व्यक्ति दोषी रहेको बताउँदै आएका छन् । यादव हाल जसपाका अध्यक्ष हुन् ।
०६३ साल चैत ७ गते गौरस्थित राइस मिलमा तत्कालीन माओवादी र मधेशी जनाधिकार फोरमका कार्यकर्ताबीच झडप भएको थियो । त्यसक्रममा २८ जनाको मृत्यु भएको थियो । दर्जनौँ व्यक्ति घाइते भएका थिए । ज्यान गुमाउने अधिकांश माओवादीका कार्यकर्ता थिए । प्रभु साह त्यति बेला माओवादीमै थिए ।
ज्यान गुमाएका व्यक्तिका परिवारले तत्कालीन फोरम अध्यक्ष यादवसहित २५३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गराएका थिए । तर, हालसम्म कोही व्यक्तिविरुद्ध कारबाही अघि बढाइएको छैन ।
गएको आमनिर्वाचनमा प्रभु साहले पूर्वसहकर्मी (माओवादी नेताहरू)बाट सहयोग पाएनन् । त्यसपछि उक्त विषय फेरि सतहमा ल्याइएको हो ।
आम जनता पार्टीमा आबद्ध नेता–कार्यकर्ताले यही साउन १ गते गौर हत्याकाण्डपीडित नामक संघर्ष समिति बनाए । दोषीमाथि कारबाहीको माग गर्दै सोही दिन मोटरसाइकलरर्याली निकाले । उनीहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र समेत बुझाएका थिए ।
त्यसलाई ‘काउन्टर’ दिँदै साउन १० गते सत्ता गठबन्धनका नेताहरूले शक्ति प्रदर्शन गरे । उनीहरूले पनि सर्वपक्षीयरसर्वदलीय संघर्ष समिति गठन गरेका छन् ।
गएको शुक्रबार आम जनता पार्टीका नेताहरूले पालिका–पालिकामा घटनाका विषयमा जानकारी गराउने कार्यक्रम गरे । शनिबारदेखि रौतहटको चन्द्रनिगाहपुरमा पीडित परिवार अनशन बसेका छन् ।
आइतबार संघर्ष समितिको आयोजनामा गौरमा मोटरसाइकलरर्यालीसहित प्रदर्शन गरियो । सोमबारदेखि रौतहट बन्दको घोषणा गरिएको थियो । तर, प्रशासनको अनुरोधमा बन्दको कार्यक्रम फिर्ता लिइयो ।
जसपाका केन्द्रीय सदस्य योगेन्द्र यादव प्रभु साहमाथि कारबाही हुनुपर्ने बताउँछन् । गौरवासी पनि सोही पक्षमा रहेको उनको जिकिर छ ।
“काशीनाथ तिवारीलगायत हत्यामा प्रत्यक्ष संलग्न रहेका साहलाई कारबाही नगरे हामी अझ सशक्त विरोधमा उत्रनेछौँ,” उनले भने, “दर्जनौँ बढी हत्याका नाइके साहले फेरि रौतहटमा राजनीतिक द्वन्द्व चर्काएर हिंसा गराउन खोजेका छन् ।”
आम जनता पार्टीको सक्रियतामा गठन भएको संघर्ष समितिकी संयोजक रूपसागर देवीले भने घटनामा जसपाका अध्यक्ष यादव मुख्य दोषी रहेको आरोप लगाइन् ।
“गौर हत्याकाण्डका मुख्य दोषी उपेन्द्र यादव हुन् । उनीलगायत हाम्रो आँखाअगाडि खुलेआम घुमिरहेका दोषीहरूमाथि अविलम्ब कारबाही हुनुपर्छ,” उनले भनिन्, “हामीलाई न्याय चाहियो, त्यही भएर धर्ना बसेका छौँ । कहिले दबाबमूलक कार्यक्रम पनि गर्ने गरेका छौँ ।”
घटनाको १७ वर्ष बितिसक्दा पनि मुद्दा अघि नबढाइएको उनको गुनासो छ ।
गौर घटना : उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्न सिफारिस (सूचीसहित)
विरोध तथा प्रदर्शनका कार्यक्रम स्थगित गरिएको जानकारी आफूले पाएको रौतहटका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बताए । शान्तिपूर्ण धर्ना भने जारी रहेको उनले उल्लेख गरे ।
“राजनीतक दलहरूसँग पटक–पटक छलफल गरेका छौँ, विवादलाई थप बढ्न नदिन अनुरोध पनि गरेका छौँ,” उनले भने, “र, सबै दलका नेताहरूलाई कानुनी प्रक्रियाअनुसार दोषीलाई कारबाही गर्ने बताएका छौँ ।”
