काठमाण्डौ, १६ साउन– हङकङबाट तस्करी गरेर ल्याइएको एक सय केजी सुनको अनुसन्धान लम्बिँदै जाँदा परिणाम यकिन गर्ने प्रक्रिया समेत लम्बिएको छ ।
३ साउन राति राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठुलो परिणाममा सुन नियन्यन्त्रयमा लिएको थियो । यतिबेला राजश्व अनुसन्धान विभाग दिनदिनै तस्करीसँग संलग्न व्यक्तिहरू र यससँग सम्बन्धित निकायमा छापामारी रहेको छ ।
हङकङबाट क्याथे प्यासिफिकको कार्गोमार्फत ‘ब्रेक प्याड’मा लुकाएर ल्याइएको अवैध सुनको यकिन परिमाण भने हालसम्म हुन सकेको छैन ।
राजश्व अनुसन्धान विभागले हङकङबाट ल्याएको सुनसहितको ब्रेक प्याडको तौल भने १५४ किलोग्राम रहेको बताएको थियो । तर, यसमा कति परिमाणको सुन लुकाइएको छ भनेर तथ्याङ्क अहिलेसम्म सार्वजानीक हुन सकेको छैन् ।
३० असारमा एयर कार्गोमार्फत ल्याएको सुन ३ साउन भन्सार जाँच पास भएको थियो । सोही दिन राजश्व अनुसन्धानले सुन राखिएको ट्याक्सी र चालकसहित ४ जनालाई पक्राउ गरेको थियो ।
यो तस्करी प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । दैनिकरुपमा थप व्यक्ती पक्राउ पर्दै जाँदा र अनुसन्धान लम्बिँदै जाँदा सुनको तथ्य यकिन हुन नसकेको विभाले जानकारी दिएको छ ।
विभागले समातेको सुनको अनुमानित तौल १०० किलो रहेको बताएको थियो । तर, यो तथ्य हालसम्म यकिन भइसकेको छैन ।
३ साउन राती समातिएको सुन ४ साउनमा नै नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर राखिएको छ । माहाशाखा पुगेको १२ दिन बितिसक्दा समेत सुन जोख्ने प्रक्रिया अघि बढेको छैन ।
हाल महाशाखामा सुनसहितको ब्रेक प्याड सुरक्षितरुपमा राखिएको छ । ब्रेक प्याडबाट सुन छुट्याएर परिमाण यकिन गर्न राजश्व अनुसन्धान विभागको स्वीकृतिसहितको पत्र चाहिन्छ ।
तर, उक्त पत्र महाशाखामा जान नसक्दा सुन जोख्ने प्रक्रिया अघि बढ्न नसकेको हो । अनुसन्धान विभाग तस्करी प्रकरणमा जोडिएका व्यक्तिहरूको खोजीमा लागिरहेकाले पनि महाशाखालाई सुन जोख्न पत्र पठाइसकेको छैन ।
महाशाखाका निर्देशक थानेश्वर आचार्य सुन जोख्न स्वीकृत दिँदै विभागको पत्र नआएसम्म प्रक्रिया अघि बढाउन नमिल्ने जानकारी दिएका छन । उनले भने, ‘विभागको पत्र आइसकेको छैन ।
पत्र नआई हामीले केही गर्न मिल्दैन ।’ उनका अनुसार महाशाखाले विभागबाट आएको ८ पोका सुनसहितको ब्रेक प्याडलाई सुरक्षित राखेको छ । आचार्यले विभागको पत्र आएपछि ब्रेक प्याडबाट सुन छुट्याउनै कम्तीमा दुई दिन लाग्ने बताए ।
त्यसपछि, सुनको परिमाण जोखेर कति सुन छ भन्ने तथ्य पत्ता लाग्न करिब एक हप्ता लाग्न सक्छ । यसको अर्थ राजश्व अनुसन्धान विभागले सुन जोख्ने प्रक्रिया अघि बढाउन स्वीकृति दिएको दिनदेखिबाट सुनका यकिन तथ्याङ्क आउन एक हप्ता लाग्छ ।
