काठमाडठौं, १६ साउन– कांग्रेस र एमाले मिलेरै कोशी प्रदेशको सरकार गठन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरेका छन् ।
कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित एउटै प्लेनमा विराटनगर पुगेका उनले यस्तो कुरा बताएका हुन् । ‘मैले एमाले नेता हिक्मतकुमार कार्कीलाई पनि भनेको छु । तपाईहरुले ल्याएको व्यवस्था हो । काँग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको छु,’ कार्कीसँगै रहेका उनले भने, ‘हामीले सरकार निर्माणको प्रक्रिया धाराहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो छैन । कांग्रेस र एमाले मिलेर सरकार चलाउनु भन्ने हाम्रो सुझाव हो ।’
अध्यक्ष लिङ्देनले आफू कोशी प्रदेशको सरकार निर्माणमा निर्णय हुने अन्तिम अवस्थामा मात्रै केही निर्णय गर्न सक्ने बताएका छन् । ‘कोशी प्रदेशमा काँग्रेस र एमाले अलगअलग बस्दा मात्रै हामी निर्णायक हौँ । त्यो परिस्थिति नल्याउन हामीले भनेका छौँ,’ उनले भने, ‘संविधानको धारा १६८ को उपधाराहरुको प्रयोग गर्दै जाँदा अन्तिम चरणमा निर्णायक हिसाबले प्रस्तुत हुन सकिन्छ ।’
अध्यक्ष लिङ्देनले संविधानतः एक महिना अगाडि नै प्रधानन्यायाधीश तय गरिसक्नु पर्ने व्यवस्था भए पनि दलहरूको भागबन्डाले संविधान विपरीतका काम भइरहेको बताए । ‘प्रधानन्यायाधीश खाली गर्ने परिकल्पना छैन । भागबन्डा, सर्तहरू मिलेपछि नियुक्ति होला । सर्वोच्चका न्यायाधिशहरु नियुक्ति हुन पनि बाँकी छ । त्यो कसरी हुन्छ हेर्न बाँकी छ,’ उनले भने ।
