काठमाडौं, १६ साउन – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी काण्ड माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको दाबी गरेका छन् ।
सोमबार (हिजो) अध्यक्ष ओली पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको दशौं बैठकलाई सम्बोधन गर्दै सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै नसक्ने जिकिर गरेका हुन् । अध्यक्ष आलीले भने, ‘घटनाक्रमहरूले सुनकाण्डमा माओवादीको संलग्नता देखिएको छ । उनीहरूले घटनाक्रमलाई अन्यत्र मोड्न खोजेका छन् । गोदाममा रहेको साढे नौ किलो सुन हरायो ? यो भन्दा राज्यशक्तिको भद्दा दुरूपयोग के हुन्छ ?’
यस्तै उनले गृहमन्त्री मातहतको मेसिनरीले के हेरेको ? भन्दै प्रश्न समेत गरे । यसमा गृहमन्त्रीको संलग्नता छ, त्यसैले हामीले गृहमन्त्रीको राजीनामा मागेका हौं’, ओलीले थपे ।
गृहमन्त्रीको संलग्नता भएकै कारण घटनाक्रमलाई अन्यत्र मोड्न यता उता देखाउने र ‘टार’ र ‘कोट’ को कुरा गरेको आरोप लगाए । सरकारको जिम्मेवार मन्त्रीले अरूमाथि आरोप लगाउँदा पुष्टि गर्नुपर्ने पनि उनले बताए ।
