काठमाडौं, १६, साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति जुटेको छ।
राप्रपा र काठमाडौं महानगरपालिकाबीच २१ दिनभित्र धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय रहेको घर खाली गर्ने सहमति जुटेको हो। काठमाडौं महानगरले गत शुक्रबार ३ दिनको समय दिएर राप्रपा कार्यालय खाली गर्न भनेको थियो।
सोमबार उक्त भवनमा डोजर लगाउने महानगरको तयारी थियो। राप्रपाका नेता तथा कार्यकर्ताले कार्यालय भत्काउन नपाइने भन्दै सडकमा गाडी तेर्साएर विरोधसमेत गरेका थिए।
त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपा र महानगरसँग यस विषयमा छलफल गरेको थियो। छलफलका क्रममा २१ दिनभित्र उक्त भवन राप्रपाले खाली गर्ने सहमति जुटेको हो।
‘काठमाडौं महानगर र राप्रपाबीच २१ दिनभित्र घर खाली गर्ने सहमति भएको छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सहमति महानगर र राप्रपाबीच भएको हो, हामीले समन्वयमात्र गरेका हौं।’
