सरकार उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा देखिएन: महेश बर्तौला

१५ श्रावण २०८०, सोमबार १७:५६

काठमाण्डौ,१५ साउन– प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिलेपनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नदेखीएको बताएका छन ।

आज (सोमबार) संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै एमाले सचेतक बर्तौलाले यस्तो बताएका हुन । उनले सरकारमै रहेका उच्च व्यक्तित्वहरु पर्ने डरले सरकार अहिलेपनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको पनि बताएका छन ।

उनले देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौँ सेटिङ गरेर देशलाई बदनाम गर्न लागिरहेको बताएका छन ।

उनले भने, ‘सुन तस्करी प्रकरणमा सरकार पक्षको र सरकार निर्माण गर्ने मुर्धन्य नेताहरुको प्रत्यक्ष संलग्नतामा यी घटनाहरु भएका छन् ।

एकपछि अर्को तथ्यले प्रमाणहरुलाई स्वीकार्दै गएको देखिन्छ । देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्ने सरकार अनेकौ सेटिङ गरेर देशलाई बदनाम गर्ने स्थितिको विकास गरिरहेको छ ।

नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्टलका क्विन्टल सुनहरु नेपाल भित्र्याउने र अन्यत्रतर्फ निर्यात गर्ने यहाँबाट जे खालको गतिविधि सरकारको प्रत्यक्ष सहभागितामा भइरहेको छ ।‘

एमालेले संसद्मा उच्चस्तरीय छानबिन समिति नबनाएसम्मका लागि अन्य प्रकृयाहरुलाई रोकेको जिकिर गरे । ‘जबसम्म सरकार उच्च स्तरीय छानबिन समिति बनाएर तमाम खालका समस्याहरुलाई निष्पक्ष पारदर्शी ढंगबाट सत्यतथ्य बुझेर दोषीलाई कारबाही गर्नुपर्छ । सामान्य मानिसहरु छैनन् यहाँ ।

दलका मुर्धन्य नेताहरु हुनुहुन्छ । महत्वपूर्ण ओहोदामा बसिसकेका, जिम्मेवारीमा बसिसकेका मन्त्रीहरु हामीले देखिरहेका छौँ,‘ बर्तौलाले भने, ‘तसर्थ संसद्मार्फत सरकारलाई खबरदारी गर्छौं ।

सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन । उच्चस्तरीय छानबिन समिति बनाउँदा सरकारमा बसेका गृहमन्त्री भ्रष्टचारलाई निर्मुल बनाउँछु भन्नुहुन्छ । तर, क्वीन्टल सुनहरु बाहिरिन्छ । अर्थ मन्त्रालयले बाहिरबाट समाउँछ ।’