काठमाण्डौ,१५ साउन– प्रहरीले ‘प्रहरी हुँ’ भन्दै भारतीय नागरिकको अपहरण गरी लुटपाट गर्ने तीन जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ का रवि साउद, सुरेन्द्र विष्ट र भुवन ऐर रहेको डोटी प्रहरीले जानकारी दिएको छ ।‘प्रहरीको विशेष व्युरोबाट सादा पोशाकमा खटिएका प्रहरी हौं’ भनेर शुक्रबार दुई भारतीय नागरिकलाई उनीहरुले अपहरण गरी लुटपाट गरेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ ।
भारतको पिलिभितका २४ वर्षीय मोहित कुमार र उनीसँगैका उद्यमसिंहनगर घर भई हाल महेन्द्रनगरमा काम गर्ने अशरफ अहमद अपहरणमा परेका थिए ।
लुटेराहरुले उनीहरूलाई अपहरण गरेर कलुवापुरस्थित कालिका सामुदायिक जंगलमा लगेर यूके ०६ एजे ८०४२ नम्बरको मोटरसाइकल, मोबाइल, १९ हजार नगद, भारतीय आधार कार्ड र सवारी चालक अनुमतिपत्र लुटेका थिए ।
घटनालगत्तै पीडितहरूले अस्थायी प्रहरी बिट कलुवापुरमा जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
लुटेको भारतीय नम्बरको मोटरसाइकल, नगद तथा मोबाइल फिर्ता गरिएको छ ।
