मेरो दबाबमा परेर सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भयो: रवि लामिछाने

१५ श्रावण २०८०, सोमबार १४:५१

काठमाण्डौ,१५ साउन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले रास्वपाको दबाबमा परेर मात्र पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको दाबी गरेका छन ।

आज (सोमबार) काठमाण्डौँमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले यस्तो बताएका हुन । उनले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको बताएका छन ।

उनले भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरूको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरू पनि भ्रष्टाचार विरोधी अभियानमा लागेको बताएका छन ।

उनले आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुसीको कुरा हुने समेत बताएका छन ।

नेपाली जनता आफैँले कोरको समृद्धिको खाकालाई सार्थक बनाउन सुशासनको प्रत्याभूति चाहिने उल्लेख गर्दै उनले त्यसमा सरकारले केही गर्नुलाई आफ्नो पार्टीले गलत अर्थमा नलिने पनि बताएका छन ।

उनले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरुलाई मतदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको बताएका छन । उनले घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टी पु¥याउने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन ।