काठमाण्डौ,१५ साउन– एमाले सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना आज संसदमा सुनाइने भएको छ। आज सोमबार प्रतिनिधि सभा सदस्यको बैठक बस्दैछ ।
उक्त बैठकमा सभामुखले रायमाझी निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका रायमाझी पूर्पक्षका लागि थुनामा रहेका छन ।
प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सांसदको पक्राउ सम्बन्धी जानकारी गराउने व्यवस्था रहेको छ । कुनै पनि सांसद पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिन सक्ने छन ।
प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा भने निलम्बनमा पर्ने व्यवस्था छ ।
थुनामा रहेको अवधिभर निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने प्रावधान नियमावलीको नियम २४८ (३) मा छ । ३१ वैशाख २०८० मा रायमाझी पक्राउ परेका थिए ।
काठमाण्डौ जिल्ला अदालतले रायमाझी सहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई १ असार २०९० मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
