काठमाण्डौ, १४ साउन– नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ । आज (आइतवार) जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन ।
एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेशवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाएका छन ।
उनले जनकपुर जान नदिनका लागि मधेशवादी नेताहरुले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको बताएका छन ।
नेता चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेशको आन्दोलनका लागि लड्दा बस्नुपरेको पनि बताएका छन ।
एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।
