सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने एमाले सचिव भट्टराईको चेतावनी

१४ श्रावण २०८०, आईतवार १६:२५

काठमाण्डौ, १४ साउन– एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन ।

आज (आइतबार) बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन । उनले सरकारले जसरी संसदलाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको पनि आरोप लगाएका छन ।

उनले ७ महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको बताएका छन । उनले भने, ‘संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास हो, तर ३ महिनासम्म हुन सकेको छैन ।’

उनले भागवण्डा नमिलेका कारण सभापति चयन हुन नसकेको भनेर समाचारहरु आइरहेको भन्दै आफूहरुले कुनै बार्गेनिङ नगरेको बताएका छन ।

उनले भने, ‘सत्ता गठबन्धनको असहमतिका कारण उत्पन्न भएको समस्याको भारी बोक्न चाहँदैनौं ‘केही सहमति बनेको छ, त्यसअनुसार जाऊँ । बनेको छैन संसदीय प्रक्रियामा जाऊँ ।’

यसबारे आफूहरुले सभामुखको ध्यानाकर्षण गराउन लागेको समेत उनले बताएका छन । उनले सत्ता पक्षको झै–झगडाको साक्षी भएर आफूहरु नबस्ने भन्दै उनले भने, ‘सम्भवत समितिको अर्को बैठकमा आउँदैनौं ।’