अभिनेता सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट, घटना रहस्यमय बन्दै

१४ श्रावण २०८०, आईतवार १६:०३


काठमाण्डौ, १४ साउन–अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ फेला परेको छ । ताम्राकारको मोबाइल परीक्षण गर्दा नोट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिएका छन ।

३१ वर्षीय अभिनेता सारुक रातोपुल स्थित घरमा असार २८ मा मृत अवस्थामा फेला परेका थिए । प्रहरीले ताम्राकारको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो ।

‘फरेन्सिक ल्याबबाट रिपोर्ट आएको छ’ एसएसपी कार्कीले भने, ‘ल्याबको रिपोर्टको आधारमा थप अनुसन्धान गर्दैछौँ।’ राति ११ बजे खानेपानीको पाइपमा झुन्डिएको अवस्थामा उनी फेला परेका थिए ।

विवाहमा गएर फर्केका परिवारका सदस्यहरूले ढोका खोल्न आग्रह गर्दा ढोका नखुलेपछि करिब ३ घण्टापछि स्थानीयको सहयोगमा परिवारका सदस्यहरू भित्र पसे ।

घरभित्र सारुक मृत देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा उनको मोबाइलमा गीत बजिरहेको थियो ।

धेरैको आशंका छ–‘सारुकलाई मृत्युको बाटो रोज्न बाध्य बनाइएको त थिएन रु’ तर, प्रहरीले मोबाइल बाहेक घटनास्थलमा ‘दुरुत्साहन’का लागि प्रमाण लाग्ने ‘सुसाइड नोट’ लगायतका दशी फेला थिएन ।डिजिटल फरेन्सिक ल्याबमा प्राविधिक जनशक्ति थोरै भएको हुनाले फरेन्सिक जाँच रिपोर्ट ढिला आएको प्रहरीको भनाइ छ ।

मोबाइलको रिपोर्टको आधारमा फोन सम्पर्क र म्यासेज विश्लेषण गरेर उनीविरुद्ध दुरुत्साहन भएको थियो कि थिएन भन्नेबारे ‘विश्लेषण’ गरिने अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिएका छन ।