कोशीको मुख्यमन्त्रीमा माओवादीको पनि दाबी

१४ श्रावण २०८०, आईतवार १४:०१

काठमाण्डौ, १४ साउन– कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रले पनि दाबी गरेको छ । सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए ।

बालुवाटारमा भएको छलफलमा माओवादी दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीमा आफ्नो दाबी रहेने बताएका थिए । कांग्रेस संसदीय दलका नेता थापाले पनि दाबी रहेको बताएका छन ।

तर गठबन्धनमा रहेको अर्को दलले बहुमत पुर्याउन सक्छ भने नेतृत्व छाड्नसक्ने संकेत उनले गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।

कोशीमा यसअघि असारमा पनि आङ्बोको नेतृत्वमा सरकार बनाउने लगभग सहमति भएको थियो । तर शीर्ष तहमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएपछि २१ असारमा कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री बने ।

११ साउनमा सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्यो । सरकार गठनका लागि थापाले पेश गरेको दाबीपत्रमा सभामुख बाबुराम गौतमको हस्ताक्षर गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चले थापाको नियुक्ति बदर गरेको थियो ।

साथै १७ गतेभित्र नेपालको संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न परमादेश दिएको थियो ।