प्रचण्डले एमालेको रकम खाए: ओली

१४ श्रावण २०८०, आईतवार ०७:४२

काठमाडौं, १४ साउन– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग एकता भनिए पनि एकता हुँदै नभएको बताएका छन् । ओलीले जनसंगठन समन्वय समितिको बैठकमा प्रचण्डले नेकपाकालमा पनि आफ्नो पार्टी जीवितै राखेको आरोप लगाएका हुन् ।

प्रचण्डले वास्तविक रूपमा पार्टी एकता हुन नदिएको ओलीको आरोप छ । माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन । कतिवटा संगठन एकता भएन । भए पनि तेल एकातिर पानी एकातिर, ओलीले भने, मिक्सअप नै हुन सकेन । हुनै दिइएन ।
नेकपा बनेपछि आफूहरूले एमालेको छुट्टै भेला बैठक नराखेको बताउँदै ओलीले प्रचण्डले ती सबै गरेको आरोप लगाए । हामीले कहिल्यै पनि छुट्टै भेला बैठक गरेनौँ । प्रचण्डले आफ्नो पार्टी जीवितै राखे । आफ्नो पार्टीको मिटिङ बैठक सबै अलग गरिनै राखे, उनले भने ।

पार्टी एकतापछि प्रचण्डले एमालेको रकम खर्च गरेको तर, त्यसको हिसाब नदेखाएको ओलीको आरोप छ ।

आफ्नो हिसाबकिताव कहिल्यै बुझाएनन् । रकम कहिल्यै बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले, एमालेको रकम खाए, एमालेको रकम पिए सबै गरे, ओलीले भने, एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिल गरेनन् । केही पनि दाखिल गरेनन् । कार्यालय पनि दाखिल गरेनन् ।