काठमाडौं, १३ साउन – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेटमा सम्मिलित सुर्रे जगुअर्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। सन्दीपको उत्कृष्ट बलिङमा जगुअर्सले ५५ रनको जित निकालेको हो। सन्दीप ‘मोमेन्ट अफ द म्याच’ समेत घोषित भए।
प्रतियोगितामा चौंथो खेलमा मिसिसागा प्यानथर्सले टस जितेर जगुअर्सलाई पहिले ब्याटिङको निम्ता दिएको थियो। जहाँ जगुअर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरको थियो।
जगुअर्सका लागि जितेन्द्र सिंहले सर्वाधिक ५७ रन बनाउँदा एलेक्स हेल्सले ३९ रन बनाएका थिए। त्यस्तै, लिटन दासले २५ रन बनाएका थिए। प्यान्थर्सका लागि जहुर खानले सर्वाधिक ३ विकेट लिए।
१ सय ६५ रनको लक्ष्य पछ्याएको प्यान्थर्स १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो। प्यानथर्सका क्यामरन डेलपोर्टले सर्वाधिक ३३ रन बनाए। डेलपोर्टलाई सन्दीपले प्रगत सिंहबाट क्याच आउट गराएका थिए। त्यस्तै, अर्का घातक मानिएका जिम्स निसम पनि सन्दीपको बलमा आउट भएका थिए। तेस्रो विकेटका रूपमा सन्दीपले जकरन सिंहलाई आउट गरेका थिए।
चौथों खेलमा दोस्रो जित हात पारेको जगुअर्स ५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा मोन्ट्रियल टाइगर्ससँग पराजित भएको जगुअर्स दोस्रो खेलमा वर्षाका कारण ब्राम्पटन वल्भेससँग अंक बाँड्न बाध्य भयो। तेस्रो खेलमा टोरन्टो नेसनललाई पराजित गर्दै प्रतियोगिताको पहिलो जित निकालेको जगुअर्सको यो लगातार दोस्रो जित हो।
