काठमाडौं, १२ साउन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम् सांसद डा. तोसिमा कार्कीको स्वकीय सचिव छान्नका लागि लिखित र प्रयोगात्मक परीक्षा हुने भएको छ ।
सांसद डा. तोसिमाले आफ्नो सचिवालय सचिवका लागि आवेदन माग गर्दै आज सूचना जारी गरेकी हुन् । उनले लिखित, मौखिक र प्रयोगात्मक परीक्षासमेत लिएर एकजना स्वकीय सचिव छान्न लागेकी हुन् ।
आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन वा राजनीतिशास्त्र वा समाजशास्त्र वा अन्तराष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको हुनुपर्ने उल्लेख छ ।
नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दख्खल भएको, नेपाली टाइप एवम् सामान्य डिजाइन गर्न सक्ने, समसामयिक राजनीतिक विषयमा जानकार भएको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।
छनोट गर्दा शैक्षिक पृष्ठभूमि, कानुन, समसामयिक विषयको जानकारी, राजनीतिक ज्ञान तथा कार्य अनुभव, नेतृत्व गर्ने क्षमता, काम गर्ने उत्प्रेरणा, प्राविधिक सीप, समस्या समाधानको सीप, कार्य तत्परता र सिर्जनशीलताको आधारमा मूल्याङ्कन हुने जानकारी कार्कीले दिइन्।
कुनैपनि सांसदले आवेदन माग गरी परीक्षा लिएर स्वकीय सचिव छान्न लागेको यो पहिलो पटक हो । डा.तोसिमा गत साल भएको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी थिइन्।
