काठमाण्डौ, १२ साउन– नेकपा (माओवादी केन्द्र)ले ६ दलीय संघर्ष समितिमा आफ्नो संलग्नता नरहेको बताएको छ । गौर हत्याकाण्डको छानबिनको विषयलाई लिएर सो काण्ड पीडित संघर्ष समितिले उठाएका मागविरुद्ध गठन भएको संघर्ष समितिमा आफ्नो कुनै संलग्नता नरहेको माओवादी केन्द्रले प्रष्ट बताएको छ ।
माओवादी केन्द्र रौतहटले शुक्रबार एक विज्ञप्ति जारी गरी गौर हत्याकाण्डको छानबिनको विषयलाई लिएर आम जनता पार्टीले उठाएको मागविरुद्ध गठन भएको ६ राजनीतिक पार्टीको संघर्ष समितिमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ ।
माओवादी केन्द्र रौतहटका इन्चार्ज युवराज भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आजभन्दा १७ वर्ष अगाडि भएको अमानवीय र कुर गौरहत्या काण्डको विषयलाई लिएर केही दिनदेखि रौतहटको गौरमा भइरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, विज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको छ, त्यो आन्दोलनमा माओवादी केन्द्रको कुनै संलग्नता छैन ।
माओवादी केन्द्रले आन्दोलनले शान्तिपूर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठूलो कार्यकर्ताको क्षति व्यहोरेको अमानवीय र निन्दनीय सो घटनाका दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने माग समेत विज्ञप्तिमा गरिएको छ ।
