कोशीका मुख्यमन्त्री थापाको नियुक्ति सर्वोच्चद्वारा बदर, सरकार बनाउन सात दिनको समय

११ श्रावण २०८०, बिहीबार १५:१७

काठमाण्डौ, ११ साउन– सर्वोच्च अदातलले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले आज बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको हो।

प्रदेश सभाका सभामुखले पनि मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कुरा असंवैधानिक भएको सर्वोच्चले ठहर गरेको छ । आदेशमा भनिएको छ, ‘सभामुखको पद निष्पक्ष हुने भएकाले उनले कुनै दलकाप्रति पक्षधरता देखिने गरी दिएको समर्थन, संवैधानिक विधिशास्त्र, संवैधानिक नैतिकता का दृष्टिले त्रुटीपूर्ण दाबीलाई संविधानसम्मत भन्न मिल्ने देखिएन’ ।

सर्वोच्चले कोशी प्रदेशमा अब दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन सात दिनको समय दिएको छ। यसरी सरकार बन्न नसके संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सरकार बनाउन सर्वोच्चले आदेश दिएको छ ।

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार स्वतस् आफूलाई मुख्यमन्त्री बनाउन दिएको रिट भने सर्वोच्चले खारेज गरिदिएको छ।