अर्घाखाँचीले प्रदान गरिएको नागरिकतामा पुरुषलाई बनाइयो महिला, अधिकृत भुसालले लिए गलत नभएको अडान

११ श्रावण २०८०, बिहीबार १५:०५

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले नागरिकता प्रतिलिपि जारी गर्ने क्रममा गम्भीर त्रुटि गरेको भेटिएको छ।

कार्यालयका प्रशासकीय अधिकृत सरोज भुसालले जारी गरेको नागरिकतामा पुरुषलाई महिला बनाइएको पाइएको हो।

जिल्लाको मालारानी गाउँपालिका– ८ हंसपुरका कमलप्रसाद अधिकारीले गत चैत २१ गते जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकता प्रमाणपत्र नं। ८३७२/५३६८ को प्रतिलिपिमा यस्तो गम्भीर त्रुटि भेटिएको हो।

सामान्य कृषिमा आबद्ध अधिकारी परिवारले नागरिकताको प्रतिलिपि ४ महिना अगाडि प्राप्त गरेको भएपनि मंगलबार काम विशेषले सदरमुकाम सन्धिखर्क आएकोबेला अरुमार्फत् थाहा पाएको बताएको छ।

नागरिकता जारी गर्ने प्रशासकीय अधिकृत भुसाल भन्छन्, ‘कस्तो कुरा गर्नुहुन्छ सर ? भीडभाडमा काम गर्दा भुलवश यस्तो त भइहाल्छ नि, के को आधारमा प्रश्न गर्नुभयो ? यो त टाइपिङ मिस्टेक हो नि यस्तो त भइहाल्छ।’

यस त्रुटिलाई हल्का रुपमा लिएका अधिकृत भुसालले भुलवश त्यस्तो त्रुटि भएको भएपनि आफू त्यसमा गलत नभएको अडान लिएका छन्।