काठमाण्डौ, ११ साउन– आज (बिहिबार) देखी बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिएका छन ।
यस्तै, प्रदेश भित्र चल्ने लामो–छोटो दूरी मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको उनले बताएका छन । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको उनले जानकारी दिएका छन ।
विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि पछिल्लो समय नेपाल आयल निगमले समेत मूल्य समायोजन गर्दै आइरहेको छ । पछिल्लो पटक निगमले १५ दिनको अवधिमै पेट्रोलियम पदार्थको मूल्य दुई पटक समायोजन गरिसकेको छ ।
