काठमाण्डौ, ११ साउन– प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश कमिटी अधिवेशनको मिति तोक्यको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।
सम्बद्ध प्रदेश कमिटीको बैठकले आआफ्ना प्रदेशको अधिवेशन तोकेको उनले जानकारी दिएका छन ।कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौँमा अधिवेशन हुने गौतमले जानकारी दिएका छन ।
उनका अनुसार लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको छ ।
गण्डकी प्रदेशले यही साउन २२ गते बस्ने बैठकले अधिवेशन तोक्ने उनले बताएका छन । पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने एमाले पार्टी कार्यालयले जानकारी दिएको छ ।
सदस्यता अद्यावधिक गरिसकेपछि निर्धारित समयमा नै प्रदेश कमिटीका अधिवेशन गर्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । पार्टीले एक वर्षभित्र प्रदेश, जिल्ला र पालिका तहको अधिवेशन गर्ने उनले बताएका छन ।
