भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक छ: अर्थमन्त्री महत

११ श्रावण २०८०, बिहीबार १२:३९

काठमाण्डौ, ११ साउने– अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक भएको बताएका छन ।

उनले करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको भन्दै उनले निराश नभइ समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताएका छन ।

आज (बिहिबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले यस्तो बताएका हुन ।

उनले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वय भए अपराध न्यीनकरण हुने बताएका छन ।

त्यससँगै त्यहाँ जडित प्रविधिलाई पनि समयअनुकूल स्तरोन्नती गर्नुपर्ने उनले बताएका छन । उनले प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने कुराहरुमा पनि अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने बताएका छन ।

मन्त्री महतले भने, ‘एउटैको भूमिकाले पूरा नतिजा आउँदैन । नाकालाई दुरुपयोग गर्ने, तस्करी गर्ने, अवैध कारोबार गर्ने प्रवृत्तिलाई टोटल रोक्नका लागि सबै निकायको समन्वयकारी भूमिका आवश्यक छ । ’

उनले अनुगमनको क्रममा यिनै विषयमा आफूले छलफल गरेको र सरकारी अधिकारीहरुले समन्वयात्मक ढंगले काम गर्ने बताएका छन् ।