काठमाण्डौ, १० साउन– नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले सरकारले सुशासनका लागि केही कदमहरु चालेको भन्दै प्रसंसा गरेका छन ।
उनले नेकपा एमालेसहितका विपक्षी दलले विभिन्न अनियमितता प्रकरणमा अनुसन्धान सुरु गरेको तर जरोसम्म नपुगेको भनी प्रश्न गरिरहेका बेला सरकारको नेतृत्वकर्ता दल माओवादी सांसद पौडेलले सरकारलाई थप सहयोग आवश्यक परेको बताएका छन ।
एक क्वीन्टल सुन अवैध रुपमा आयात भएको विषयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको बारेमा संसदमा केही प्रश्नहरु उठेको उनले बताएका छन ।
उनले भने, ‘म आफ्नो तर्फबाट बधाइ दिन चाहन्छु । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदैछ ।’ भ्रष्टाचार र अनियमितताको विषयमा सरकार अगाडि बढ्दा सांसदहरुले टाउको दुखाउन नहुने पौडेलले बताए ।
‘भ्रष्टाचारसित सम्बन्धित कतिपय विषयहरुको सरकार छानबिन गर्ने प्रक्रियामा अगाडि बढेको छ । माननीयजीहरुलाई टाउको नदुखाउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु’, उनले थपे, ‘कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस् ।’
उनले सरकारलाई भ्रष्टाचारसँग सम्बन्धित उठेका प्रश्नहरुको बारेमा छानबिन गरेर, व्यक्तिको अनुहार नहेरी व्यक्तिको काम, शैली, तरिका र गल्ती हेरेर आफ्को क्रियाकलाप अगाडि बढाउन आग्रह गरेका छन ।
उनले सुशासनका लागि काम गर्दा प्रश्न गर्न नहुने बताएका छन । उनले प्रश्न गरे, ‘आज सरकारले अलि अलि केही प्रश्न, केही विषयहरु उठाउन खोज्दा हामी सबैले चिच्याएर, विरोध जनाएर, असहमति प्रकट गरेर हामी यस प्रकारका क्रियाकलापहरुलाई राज्यको तर्फबाट छानबिन गर्ने प्रक्रियालाई अगाडि बढाउने कुरा रोक्छौं भने हामीले कुन प्रकारको सुशासनको प्रत्याभूति नागरिकलाई दिन चाहन्छौं ?’
उनले कुन दलको हो भन्ने नहेरी सुशासनको काम अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन ।
