नेपाल सरकार भारतीय रवैया प्रति नतमस्तक भयो : शंकर पोखरेल

१० श्रावण २०८०, बुधबार १२:३१

काठमाडौं, १० साउन– राष्ट्रिय हित र सरोकारको विषयमा सरकार अति कमजोर भएको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

उनले नेपाल सरकार भारतीय रवैया प्रति नतमस्तक भएको भन्दै आलोचना समेत गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘राष्ट्रिय हित र सरोकारको विषयमा सरकार यति हदसम्म निर्लज्ज र लाचार हुन मिल्दैन ।’

नेपालमा सबै प्रक्रिया मिलाएर चीनबाट ल्याउन लागिएको विष्फोटक पदार्थ भारतको दबाबमा नाकामा नै रोकिएको प्रति उनले असन्तुष्टि जनाए । ‘पहाडी भूभागमा निर्माण गरिने सडक, सिँचाई र जलविद्युत आयोजनाका लागि विस्फोटक पदार्थ नभई हुँदैन, भारत सरकारले विस्फोटक पदार्थको निर्यातमा रोक लगाएको अवस्थामा सबै प्रक्रिया पुरा गरी चीनबाट ल्याउन लागिएको विस्फोटक पदार्थ भारतीय पक्षको दबाबमा रोकिएको समाचार आउनु खेदजनक विषय हो’, महासचिव पोखरेलले लेखेका छन् ।

सरकार आफैँले दिएको अनुमति विरुद्ध भन्सार नाकामा आइपुगेको विस्फोटक पदार्थ ल्याउन नदिनु अत्यन्त दुःखद भएको उनको धारणा छ । ‘हलो अड्काउने, गोरु पड्काउने छिमेकीको रवैयाका विरुद्धमा दह्रो अडान लिनुपर्ने सरकार आफैँले दिएको अनुमतिलाई समेत बेवास्ता गरी भन्सार नाकामा आइपुगेको विस्फोटक पदार्थ ल्याउन नदिनु अत्यन्त दुःखद पक्ष हो ।’ उनले लेखेका छन् ।