ओबामा परिवारका लागि काम गरेका पूर्व सेफ मृत फेला

९ श्रावण २०८०, मंगलवार १५:५३

काठमाडौं, ९ साउन– ओबामा परिवारका लागि काम गरेका ह्वाइट हाउसका पूर्व सेफ सोमबार मार्थाज् भाइनयार्डको एक पोखरीमा सोमबार मृत फेला परेको म्यासेचुसेट्स प्रहरीले जानकारी दिएको छ ।

पूर्व राष्ट्रपति बाराक ओबामाले काममा राखेका ४५ वर्षीय टाफारी क्याम्बेल घुम्नका लागि मार्थाज् भाइनयार्ड पुगेको प्रहरीले आफ्नो विज्ञप्तिमा जानकारी दिएको छ । पोखरीमा प्याडलबोर्डिङका लागि पुगेका क्याम्बेल आइतबारदेखि हराइरहेका थिए ।

प्याडलबोर्डिङका लागि पोखरीमा पसेका उनले केही बेरपछि सतहमा अडिन संघर्ष गर्न परेको र त्यसपछि पानीमा डुबेका उनी बाहिर निस्कन नसकेको पनि प्रहरीको भनाई छ । त्यही पोखरीमा प्याडलबोर्डिङ गरिरहेका एक प्रत्यक्षदर्शीले उनी पानीभित्र डुबेपछि पुनः सतहमा नआएको बयान दिएका छन् ।

प्रहरीका अनुसार सोमबार बिहान स्थानीय समयअनुसार १० बजे एडगरटाउन पोखरीबाट उनको शव निकालिएको थियो । उनको शव तटबाट १ सय फिट पर ८ फिटको गहिराइमा फेला परेको थियो । बाराक र मिसेल ओबामाले क्याम्बेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । एजेन्सी