काठमाण्डौ, ९ साउन– काँग्रेस प्रमुख सचेतक रमेश लेखकले काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन । आज मंगलवार काठमाण्डौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वभाविक प्रक्रिया रहेको बताएका छन । उनले केन्द्रिय समितिको बैठक राम्रोसँग सञ्चालन भइरहेको र बैठकको निर्णय बुधवार सार्वजनिक हुने बताएका छन ।
उनले बैठकले आम नागरिकको जनजीविका बारेमा विशेष छलफल गरेको बताएका छन । उनले भने, ‘बैठक राम्रोसँग सञ्चालन भएको छ ।
मुलतः दुई कोणमा व्यापक कुरा भयो, आन्तरिक जीवनको बारेमा कुरा भयो, विधान कार्यान्वयन, समिति पूर्णता दिने, राजनीतिक अभियान सञ्चालन गर्ने कुरामा धेरै कुरा भयो ।
साथै पार्टीको जीवन भन्दा बाहिर आम नागरिकको जनजीविका, दिनानुदिनको बारेमा छलफल भएको छ, यो बैठकले पार्टी भित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ ।
सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो, बैठक सकारात्मक छ, भोलि निस्कर्षमा पुग्नेछौँ । काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ । फेरबदल अहिले कति देखिए कति देखिएनन् तर फेरबदल स्वभाविक हुन् र यी हुन्छन् ।’
