काठमाण्डौ, ९ साउन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको बताएका छन ।
सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन ? भनेर प्रश्नसमेत गरेका छन ।
कम्बोडिया भ्रमणबाट गएराति स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन ।
उनले भने, ‘गृहमन्त्रीले बताउनुपर्योु उहाँको संलग्नता छ छैन यसमा ? सानोतिनो संलग्नताबाट त भएको छैन होला रु उहाँको चाहिँ संलग्नता छ कि छैन ?
छैन भने कसको संलग्नता छ, को छ यसमा ?’गत मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाण्डौं आएको करिब एक क्विन्टल सुन बुधबार भन्सार जाँच पास भएर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
त्यसको पर्सिपल्ट अर्थात् गत शुक्रबार उपप्रधानमन्त्री श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको अनुगमन गर्न गएका थिए ।
त्यहाँ एक पत्रकारले भ्रष्टाचारको जालो उच्च राजनीतिक तहसम्म फैलिएको भन्दै गृहमन्त्रीको सम्भावित कदमबारे जिज्ञासा राखेका थिए ।
त्यसको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र कुनै टारको वा कुनै कोटको भए पनि नछाड्ने बताएका थिए ।
कम्बोडिया भ्रमणबाट फर्किएपछि ओलीले गृहमन्त्री श्रेष्ठको यही अभिव्यक्तिलाई लिएर निशाना साधेका छन् । उनले मन्त्री श्रेष्ठको त्यो अभिव्यक्ति ‘अनैतिक’ र ‘गैरजिम्मेवार’ भएको बताएका छन ।
ओलीले भने, ‘क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री चाहिँ काँक्राको बियाँ अर्काको गालामा लगेर टाँस्छ मुखैको छेउँमा । यो अत्यन्तै अनैतिक कृयाकलाप हो ।
गृहमन्त्रीको कृयाकलाप गैरजिम्मेवार । आफू गृहमन्त्री भएर यसको भए पनि उसको भए पनि त्यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ?’ उनले जथाभावी नबोल्न गृहमन्त्री श्रेष्ठलाई सचेत गराएका छन ।
उनले अगाडि भने, ‘यत्तिकै कोटका गालामा काँक्राको बियाँ टाँस्ने होइन । म उहाँलाई सचेत गराउन चाहन्छु गृहमन्त्रीको हैसियतले उहाँले बोल्दाखेरि तरिका पुर्याँएर बोल्नुपर्छ । बत्तमिज हुनु एउटा कुरा हो त तर यो त बत्तमिजीको मात्र होइन, गैरजिम्मेवारको हद भयो ।’
