इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटलमा मृत भेटिए

९ श्रावण २०८०, मंगलवार १२:१६


काठमाण्डौ, ९ साउन– बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल मृत अवस्थामा भेटीएका छन ।

जिल्लाको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिएकी छन ।

उनले भनिन्,‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको अनि वडाध्यक्षलाई खबर गरेको भन्ने खबर छ,’ ‘अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।’

घटनास्थलमा रहेका बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनका अनुसार घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिएकी छन ।

जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड–७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताएका छन ।