काठमाण्डौ, ८ साउन– कांग्रेस महामन्त्री गगन थापाले यो गठवन्धनको नेता कांग्रेस भएकाले आफ्ना शर्तहरुमाथि सम्झौता गर्नु नहुने बताएका छन ।
उनले अबको ४ वर्षमा देशमा संघीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौती रहेको बताएका छन ।
कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै थापाले बताएका हुन । उनले भने, ‘यो गठबन्धनको नेता कांग्रेस हो, देउवा प्रमुख मान्छे हो । प्रधानमन्त्री आउने जाने चल्छ ।
तर, हामीले बनाएको गठवन्धन भएकाले इमान्दारितापूर्वक अगाडि जान्छौं ।’तर, गठबन्धन टिकाउने नाममा पार्टीका शर्तहरुमाथि सम्झौता नहुने उनले बताएका छन ।
उनले थपे, ‘हाम्रा केही शर्त छन् त्यो रहनुपर्छ । कांग्रेसको आधारभूत मान्यतामा सम्झौता गरेर गठवन्धन टिकाउनुपर्छ भन्ने कुनै बेला नआओस ।
कांग्रेसले सम्झौता गरेन भने गठवन्धन भत्किन्छ भनेको बेला नेपाली कांग्रेस थरथर गरेर हामी सम्झौता गर्छौं भन्ने कदाचित हुँदैन । आधारभूत मान्यतामा सम्झौता हुँदैन, चाहे प्रदेश सरकार बनाउन होस वा सरकार टिकाउन ।
गठवन्धन दलभित्र रहेको अमूक दलको माग पूरा गर्नका लागि अनुचित सम्झौता कांग्रेसले गर्दैन, चाहे गठवन्धन तलमाथि भए हुन्छ ।’
