नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

८ श्रावण २०८०, सोमबार १७:३८

काठमाण्डौ, ८ साउन– नेपालको सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको छ ।

गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण रू दुई खर्ब आठ अर्ब ३८ करोड २१ लाख थपिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ को असार मसान्तसम्ममा यस्तो ऋण रू २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर रहेको थियो ।

गत आर्थिक वर्षमा मात्र रू एक खर्ब ४० अर्ब ८७ करोड ९९ लाख बराबर आन्तरिक र रू ६७ अर्ब ५० करोड २२ लाख बराबर बाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।