काठमाण्डौ, ८ साउन– दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले रोजगारीको अवसर गुमाउन सक्ने बताएको छ ।
कोरियाबाट फर्किएका ‘रिटनी’ हरू ले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा रोक्ने चेतावनी दिएपछि कोरिया सरकारले रोजगारीको अवसर गुमाउने चेतावनी दिएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकले यस्तो चेतावनी दिएका हुन् ।
रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमा लागू भइरहेको र नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने उनले बताएका छन ।
रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परे परीक्षा तयारी गर्दै गरेका धेरै युवाले अवसर गुमाउने उनले बताएका छन ।
कोरियाली रोजगारदाताले पारिश्रमिक दिने भएकाले विदेशी श्रमिक छनोटमा उनीहरूकै राय सबैभन्दा महत्त्वपूर्ण हुने उनको भनाई छ ।
उनले भनेका छन्, ‘रिटर्नीहरूलाई जबर्जस्ती छनोट गर्न लगाउन सकिँदैन । रोस्टरमा भएका श्रमिक नसकुन्जेल परीक्षा स्थगित गराएर सायद केही रिटर्नी कोरिया जान पाउलान् तर रोजगारदाताले चाहेको श्रमिक रोस्टरमा नभए अरू राष्ट्रबाट छनोट गर्न सक्छन् भन्ने विषयलाई ध्यानमा राख्नुपर्छ ।’
सन् २०२२ मा १४ हजार ४९५ जना नेपाली कोरिया प्रवेश गरेका थिए । जुन ईपीएस प्रणाली लागू भएका १६ राष्ट्रमध्ये कोरिया प्रवेश गर्ने सबैभन्दा बढी नेपाली श्रमिक रहेका थिए ।
सन् २०२३ मा १६ वटै देशबाट १ लाख १० हजार विदेशी श्रमिक कोरिया भित्र्याउने योजना छ । जसका लागि रोस्टरमा दुई गुणा बढीको अनुमान गरी परीक्षामा धेरै उत्तीर्ण गराइएको थियो ।
२०२३ जुलाई १९ सम्म १४ हजार ३५९ जना नेपाली श्रमिक कोरिया प्रवेश गरिसकेका छन् । यसमा नयाँ श्रमिक १० हजार ११४ जना र ४ हजार २४५ जना कमिटेड श्रमिक रहेको ईपीएस नेपालले जनाएको छ ।
कमिटेड श्रमिकको अनुपात ३० प्रतिशत रहेको छ । नयाँ परीक्षा उत्तीर्ण भएका रिटर्नीहरूको रोजगारी दर नेपालमा मात्र नभई १६ वटै राष्ट्रमा साझा रूपमा कम भइरहेको ईपीएस नेपालले बताएको छ ।
हाल नेपालमा परीक्षा पारदर्शी हुनुका साथै कोरियामा छिर्ने नेपाली श्रमिकको संख्या ठूलो भएकाले १६ राष्ट्र मध्ये उत्कृष्ट उदाहरण बनेको नेपाल ईपीएस सेन्टर प्रमुख दकले जानकारी दिएका छन ।
ईपीएस प्रणाली १६ वटै राष्ट्रमा समानरूपमा लागू हुने र नेपालका लागि मात्र विशेषरूपमा लागू गर्न नसकिने प्रष्ट पारेका छन ।
