‘क्राउन्ड एम्बेसडर इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिकाले पाँच उपाधि जित्न सफल

८ श्रावण २०८०, सोमबार १३:४२

काठमाडौं, ८ साउन – फिलिपिन्समा आयोजित ‘क्राउन्ड एम्बेसडर इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिकाले दुई शीर्षसहित पाँच उपाधि जित्न सफल भएका छन् ।

हालै राजधानी मनिलामा सम्पन्न भएको प्रतियोगितामा नेपालका तर्फबाट सहभागी संयक श्रेष्ठले ‘योङ प्रिन्स क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ को शीर्ष उपाधि जित्दा लावेन लिम्बूले ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’को शीर्ष उपाधि जितेका हुन् । यस्तै यही प्रतियोगिता अन्तर्गत दर्शना संग्रौला फस्ट रनरअप भएकी छन् ।

सोही कार्यक्रममा आयोजित ‘टिन क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’मा रिदिमा नेपालले फस्ट रनरअपको उपाधि जित्दा सिजना प्रधानले भने ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर कल्चर इन्टरनेसनल’ सबटाइटल प्राप्त गरिन् ।

सहभागिता सबै प्रतियोगी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता थिए । नेपाली बालबालिकाले प्राप्त गरेको उपाधि देशका लागि ठूलो उपलब्धि भएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजुले बताए ।

‘प्रतियोगितामा सहभागीले नेपालको संस्कृति, भेषभूषा चिनाउनुका साथै उपाधि जितेर मुलुकको नाम पनि उचो बनाएका छन्,’ फैजुले भने, ‘यस्ता बालबालिकालाई राज्यले पनि प्रोत्साहन गर्नुपर्छ ।’ यस्तो कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने उनले बताए ।