काठमाडौं, ७ साउन – नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत एमालेमै फर्किएका छन् ।
आइतबार (आज) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल रामेछापको सदरमुकाम मन्थलीमा एमाले जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा एमाले केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत एमालेमा न फर्किएका हुन्।
उनलाई एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरूले एमालेमा स्वागत गरेका हुन् । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत हुन् ।
नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएको कारण आफू एमालेमा फर्किएको बस्नेतले बताए । आफू एमाले प्रवेश गरेको नभई बाहिर जाँदा हण्डर खाएर आफ्नै पार्टीमा फर्किएको उनले सुनाए ।
यस्तै एकीकृत समाजवादीले राम्रो गर्छ कि भन्ने लागेको भए पनि कांग्रेसको पिछलग्गु भएर कवल एमालेलाई समाप्त पार्नको लागि मात्र माधव नेपाल लागेकोले सो पार्टीले देश, जनताको हित र कम्युनिष्ट विचार बोक्न नसक्ने उनले बताए । आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न एमालेमा फर्किएको उनले प्रष्ट पारे।
उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल, नेकपा एकीकृत समाजवादीका नेताहरु लगायत एमालेमा प्रवेश गरेका छन् ।
