काठमाण्डौ, ७ साउन– कांग्रेस केन्द्रीय सदस्य एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने कुरा अहिले छलफलको विषय हुन नसक्ने बताएका छन ।
आज (आइतबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘सत्तामा नहुँदा निराश हुने र सत्तामा हुँदा किन बसेको भन्ने मानसिकतामा नजाऔं ।
आगामी निर्वाचनमा एक्लै जाने नजाने बहस र छलफलतर्फ जानुभन्दा हामी बलियो हुने अभियानमा जाऊँ ।’ महतले भ्रष्टाचारबारे कांग्रेसको दृष्टिकोण प्रष्ट रहेको पनि बताएका छन ।
उनले भने, ‘भ्रष्टाचारमा कांग्रेसको के दृष्टिकोण छ। यो देशमा एमालेले शासन गर्यो, अरुले पनि शासन गरे। ती शासनकालमा के कस्ता क्रियाकलाप भए ? यी कुरा सबैलाई थाहा छ ।
’ उनले कांग्रेसले सत्तामा जाँदा भ्रष्टाचार गर्ने कुरा कल्पना पनि नसकिने बताएका छन । उनले भने, ‘हाम्रो पार्टी चाहिँ भ्रष्टाचारविरुद्ध प्रतिवद्ध छैन। अरु दल छन् भन्ने भाष्य अहिले बनाइएको छ। शंका नहोस् कांग्रेसले सत्तामा गएर भ्रष्टाचार गर्दैन’।
