ओलीका कारण रास्वपा उदाएको नेता भुसालको दाबी

७ श्रावण २०८०, आईतवार १३:४४

काठमाडौं, ७ साउन – नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण घण्टी (रास्वप)उदाएको बताएका छन् ।

नेता भुसालले शनिबार विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सो कुरा बताएका हुन् । दुईतिहाइको सरकार ढलेकै कारण घण्टीको उदय भएको भन्दै नेता भुसालले एमाले नर्कको बाटोतर्फ लागेको टिप्पणी गरे । ओलीका कारण उदाएको घण्टी (रास्वपा)ले अहिल्यै केही नगरेको, तर नसुध्रिए घण्टी मात्र नभई ‘शंख’ पनि आउन सक्ने उनले बतए।

ओलीको चरम गुटबन्दी र अर्कालाई गाली गर्ने प्रवृत्तिका कारण कम्युनिस्ट पार्टीकै छवि बिगारेको पनि उनको जिकिर छ । प्रधानमन्त्रीले महिनामा तीनपटक मात्रै राम्रा कुरा गर्दा तीन करोड जनतामा सकारात्मक सन्देश जाने भन्दै उनले भने, ‘तर, ओलीजीले प्रधानमन्त्री पदलाई चिट्ठामा पाएको जस्तो गरेर उडाउनु भयो । विदेशीसँग गरिने व्यवहार हेरेर नै उहाँको राष्ट्रवादबारे थाहा भइहाल्छ नि ।’