कोशी प्रदेशको सरकार आफ्नो नेतृत्वमा बन्ने आशमा एमाले

७ श्रावण २०८०, आईतवार १२:५९

काठमाडौं, ७ साउन – सर्वोच्च अदालतमा कोशी प्रदेश सरकारको वैधानिकतामाथि आइतबार (आज) देखि बहस सुरु हुँदैछ ।

गत असार २७ गते कोशी सरकार गठन अस‌ंवैधानिक भन्दै परेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशनअनुसार आजदेखि बहस हुने भएको हो ।

निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन् ।

त्यसैअनुरुप प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमले लिखित जवाफ पेस गरेपछि सर्वोच्चमा आजदेखि निरन्तर सरकारको वैधानिकतामा बहस सुरु हुन भएको हो ।

यही साउन १० सम्म कोशी सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ । एमालेले वर्तमान थापा नेतृत्वको सरकार खारेज हुने र आफ्नो नेतृत्वमा सरकार बन्ने आशमा रहेको छ ।

मुख्यमन्त्री थापालाई तत्काल विश्वासको मत लिन लगाउन आदेश दिने सम्भावना राजनीतिक विश्लेषकहरू सर्वोच्चको रहेको बताउँछन् । यदि सर्वोच्चले सोही किसिमको आदेश दिएमा सभामुख गौतमले पदबाट राजीनामा दिएर कोशी सरकारलाई जोगाउने नेताहरूको भनाइ छ ।

एमाले नेताहरू भने आफ्नो नेतृत्वमा सरकार बन्ने, नभए मध्यावधि निर्वाचन हुने बताएका छन् । बहुमत नपुगेपछि सभामुख गौतमसहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरेपछि एमाले सर्वोच्च पुगेको हो ।