गुट फेर्दा सम्मानजनक व्यवहार भएन: भीम पराजुली

७ श्रावण २०८०, आईतवार १२:१६

काठमाण्डौ, ७ साउन– कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले आफूलाई संसदीय दलको नेतामा कोशी प्रदेशमा हराउन पार्टीका गुटहरु लागेको आरोप लगाएका छन् ।

आज (आइतबार) पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा पराजुलीले यस्तो बताएका हुन । उनले भने, ‘गुटको शिकार म पनि भएको छु ।

संसदीय दलको नेतामा उठ्दा सबैतिरबाट खुलेआम हराउने काम भयो । ’ उनले पार्टीभित्र विश्वसनीय कारबाहीको अवस्था नरहेकाले कारबाहीको सिफारिस नगरेको बताएका छन । कोशीमा कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनमा पराजुलीले तेस्रो स्थानको मत पाएका थिए ।

उनले बैठकमा एक गुटको नेता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार नगरिएको बताएका छन । उनले भने, ‘अरु पार्टीका नेताहरुसँग समधुर सम्बन्ध राख्ने तर आफ्नै पार्टीका नेता कार्यकर्तासँग दुश्मन जस्तो व्यवहार गरेको देखिन्छ, ।

उनले ९४ प्रतिशत ओमकार परिवार रहेकाले धार्मिक स्वतन्त्रता सहितको वैदिकता कांग्रेसले अबलम्बन गर्नुपर्ने बताएका छन ।

उनले भने, ‘कांग्रेसले धर्म र संस्कृति विभाग छुट्टै गठन गर्नुपर्दछ ।’ उनले तरुण दलमा ४०, नेविसंघमा ३२, महिला संघ ४५ वर्षको उमेर हद राख्नुपर्ने बताएका छन ।