काठमाण्डौ, ५ साउन– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुने बताएका छन ।
गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन ।
उनले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गर्ने बताएका छन । अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाउने बताएका छन ।
उनले भ्रष्टाचार र अपराधको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने जनाउँदै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताएका छन ।
