काठमाडौं, ५ साउन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन बरामद काण्डपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमाले निकट पत्रकारबीच लडाइ सुरु भएको छ ।
गृहमन्त्री श्रेष्ठकै संलग्नतामा भन्सारबाट तस्करहरुले ‘सुन पास गराएको’ भन्दै एमालेसम्बद्ध प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले फेसबुकमा लेखेपछि अहिले माओवादी पत्रकार र एमाले पत्रकारबीच सामाजिक सञ्जालमा हानाहान भइरहेको छ ।
गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई लिएर बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरोमा बिहीबार (हिजो) उजुरी दिएपछि विवाद उत्कर्षमा पुगेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करीमा गृहमन्त्रीको संलग्नता रहेको र अर्थमन्त्रीले समात्न लगाएको भन्दै बस्नेतले फेसबुकमा स्टाटस लेखेका थिए ।
आफूविरुद्ध उजुरी परेपछि अध्यक्ष बस्नेतले साइबर क्राइम प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । गृहमन्त्रीलाई खुला चुनौती भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘कमरेड नारायणकाजीबाट यही अपेक्षा थियो, खुसीको खबर सुनियो, दिनभर समाचार लेखाइयो, अनि प्रहरीलाई निर्देशन दिइयो, ‘साइबर क्राइम लगाऊ ।’
