काठमाण्डौ, ५ साउन– त्रिभुवन विमानस्थल भन्सारबाट तस्करी गरिएको सय किलो सुन भित्रिएसँगै प्रहरीप्रति नागरिकस्तरबाट गम्भीर प्रश्न र आरोप लागेको छ ।
सामाजिक सञ्जालमा सामान्य नागरिकलाई चेकचाँज गर्ने प्रहरी सय किलो सुन भित्रिँदा के हेरेर बसेको थियो भन्ने प्रश्न धेरैले गरेका छन् । कतिपयले त प्रहरीकै मिलोमतोमा तस्करी भएकाले भन्सार कर्मचारी मात्र नभई विमानस्थल सुरक्षामा कटिएका प्रहरी कर्मचारीमाथि समेत कारबाहीको माग गरेका छन् । तर, त्यसो भन्नेहरुले बास्तविकता नै बुझेका छैनन् ।
कारण, हालसम्म विमानस्थल भन्सारमा प्रहरी खटाउने गरिएकै छैन । कार्गोमार्फत आएका सामान विमानस्थलबाट सिधै भन्सार कर्मचारीले लैजान्छन् र भन्सार पास भएपछि सामान बाहिर निकालिन्छ ।
जहाँ प्रहरीको उपस्थिति र संलग्नता नै छैन । नेपाल प्रहरीका प्रवक्ता कुबेरसिंह कठायतले विभागदेखि नै भन्सारमा प्रहरी खटाउने प्रचलन नरहेको स्पष्ट गरे । प्रहरीले विमानस्थलको अध्यागमन हुँदै बाहिरिने यात्रुको मात्र चेकजाँच गर्दै आएको छ ।
